
चतुर्ब्रम्ह महाबिहार/ तधुछें बहि ( Chaturbramha mahavihar)
तधुछें अथवा तधिछेंलाई नै बास्तबमा चतुर्ब्रम्ह महाबिहार भनिन्छ जुन भक्तपुर दरवार क्षेत्रको पुर्व तर्फ अवस्थित रहेको छ । ने.सं ६११ (1492AD) मा राजा राय मल्लद्वारा यो विहारको निर्माण गर्न लगाएको थियो । यस विहारका सर्वप्रथम बौद्ध पुजारी जिवचन्द्र बज्राचार्य हुन । उहाँ प्रसिद्ध तान्त्रिक गुबाजु सुरत बज्राचार्यका छोरा हुन । तसर्थ यस विहारलाई सुरत श्री चतुर्ब्रम्ह महाविहार पनि भनिन्छ । भक्तपुरको शाही कुमारीको जन्म यस मठमा भएको थियो तसर्थ बर्षको एक पटक जिउँदो देवी कुमारी यस विहारमा ल्याउनु पर्ने भएका कारण यस विहारलाई कुमारी घरको रुपमा पनि लिइन्छ । विहारमा रहेको गंगा जमुनाको काठको मुर्तीले यो क्षेत्र हिन्दु र बौद्धको संयुक्त स्थलको रुपमा रहेको छ । विहारको बिचमा स्तुपा र ढुङ्गाको मण्डल रहेको छ । यस मण्डलको केन्द्रमा मञ्जुश्रीको एक रूप मन्जुगोस्टको आकृति रहेको छ । दुई सिंहले यस विहारको प्रवेशद्वारको रक्षा गरिएको छ जसको दायाँबायाँ खड्कपाणी र बज्रपाणीको आकृति कुंदिएको छ । यस विहारको मुख्य देवताको रुपमा पद्मपाणी लोकेश्वर रहेको छ भने दिपंकर बुद्धको मुर्ती पनि स्थापना गरेको छ ।


