थथु बहि (जय किर्ती महाबिहार) Thathu Bahi

माघ १ गते घ्यू चाकु सक्रान्तिका दिन भक्तपुरको तिनख्यमा सम्यक महादान पर्व हुने गर्दछ । तिनख्य भन्नाले ठूलो चौर हो । यसै चौरमा थथु बहि अवस्थित रहेको छ । थथु बहिलाई जय किर्ती महाबिहार पनि भनिन्छ । लिच्छविकालमा निर्मित यस बिहारको परिसरमा न:पुखु निर्माण गरेका थिए । ने सं २८९ बैशाख कृष्ण चतुर्दशीका दिन निर्माण सम्पन्न भएको यस पोखरीले यो बिहार कति ठूलो थियो भन्ने यकिन गर्न सकिन्छ । एक भारद्वारले थथु बहिका इलु नायो र कुथु बहिका बिलु नायो संग पैसा सापटी मागेर संघ भित्र भोजन गराउन र पुजा सम्पन्न गर्न पानीको ब्यबस्था स्वरुप यो न:पुखु निर्माण गरेको थियो । यसबाट यो स्पष्ट हुन्छ कि यो बिहार ने.सं २८९ भन्दा पहिले नै निर्माण गरेका थिए । यस बहिमा स्थापित सबै भन्दा पुरानो अभिलेख भनेकै यहाँ स्थापित क्वापा द्य:को आसनमा उल्लेखित सम्बत ६६६ बैसाख कृष्ण सुदि १२ भनी लेखिएको अभिलेख हो । न:पुखुको दिलमा निर्मित दुई चैत्य र यसै संगै रहेको पञ्चबुद्ध सहितको द्वारले लिच्छविकालिन शैली झल्काउदछ भने तिनख्यको बिचमा अवस्थित पद्म चैत्यले बिहारलाई थप आकर्षक बनाएको छ । ने. सं ७९४ मा जय रत्न बज्राचार्यका परिवारले जय किर्ती बिहार भनी जिर्णोद्वार गरेका थिए भने पछि राजा जितामित्र मल्ल र उग्र मल्लले पनि जिर्णोद्वार गर्न लगाएका थिए ।
यस बिहारका मुख्य देवता पद्मपाणी लोकेश्वर हुन । उक्त लोकेश्वरको अगाडि अष्ट मंगलाकार चैत्य पनि रहेको छ भने चौथो तथागत दिपंकर पनि बिराजमान भएको छ । सम्यकदानका दिन आफू भन्दा ठूलो तीन दिपंकरलाई बोलाउने प्रचलन पनि रहि आएको छ भने कुथु बहिका पाँचौ दिपंकर पनि यहाँ सम्यकदान लिन आउने गर्दछ । यस बाहेक बौद्य: र स्वयम्भूलाई पनि सम्यकदान दिने गर्दछ ।
लेख: GR Ranjit


