यालाछें विहार (Yalachhen Vihar)
भक्तपुर वडा नं २ यालाछें टोलमा यालाछें विहार रहेको थियो । हालको शारदा माध्यमिक विद्यालय नै बास्तबमा यालाछें विहार थियो । नेपाल सम्बत ६११ (1492AD) मा राजा राय मल्लको समयमा काठमाण्डौबाट एक बौद्ध पुजारी जिवचन्द्र बज्राचार्य तिब्बत जाने भनेर भक्तपुर भई जाने क्रममा उहाँलाई भक्तपुरमा रोकेका थिए र उहाँलाई चतुर्ब्रम्ह महाविहारको संरक्षकको रुपमा नियुक्ती गरे । जिवचन्द्र बज्राचार्य प्रसिद्ध तान्त्रिक गुबाजु सुरत बज्राचार्यका छोरा हुन । जिवचन्द्रका ६ भाइ छोराहरुलाई विभिन्न विहारहरुको जिम्मा दिएका थिए । जसमध्ये एक छोरालाई गोल्मढी स्थित मंगल धर्मद्विप महाविहार, अर्को छोरालाई थथु वहि त्यस्तै अर्को छोरालाई कुथु वहि जिम्मा लगाएका थिए । यसरी नै अर्को एक छोरालाई हालको चोछेंमा घर दिएर यस यालाछें वहिको जिम्मा दिएको थियो । बि.सं १७३७ (सन १६८१) मा राजा जितामित्र मल्लको पालामा आएको महाभुकम्पले भाजु पुखुको बिचमा रहेको मन्दिर लगायत यो विहार पनि भत्किएको थियो ।

शारदा स्कुल भित्र रहेको चैत्य नै यस विहारको अन्तिम अस्तित्वको रुपमा रहेको छ । पछि राजा जितामित्र मल्ल र राजा भूपतिन्द्र मल्लको पालामा ९९ चोक बनाउने क्रममा यस स्थानलाई एक चोकको रुपमा परिणत गरि दुई तल्ले नारायणको मन्दिर बनाएका थिए । बि.सं १८२६ मा राजा पृथ्वीनारायण शाहले भक्तपुर जितेर बिजय र्याली गर्दै गर्दा यस विहारमा लुकेर बसेका केही ब्यक्तिहरुले बिरोध स्वरुप ढुङ्गाले हान्दा राजाले बाँकी संरचनामा आगो लगाई दिएका थिए भन्ने जनश्रूति रहेको छ । पछि बि.सं १८९० सालमा आएको भूकम्पले यहाँको विहार पूर्णरुपले नष्ट भएका थिए ।
लेख: GR Ranjit
स्रोत: Krishna Chandra Bajracharya


